१३५) हे मोमिनहरू ! न्यायमा ढृदताका साथ कायम रहनेवालाहरू र अल्लाहको प्रसन्नताको लागि साँचो गवाही दिनेवाला बन । त्यो तिम्रो वा तिम्रो आमा–बुवा वा नातेदारहरूको विरुद्ध नै किन नहोस् । त्यो मानिस चाहे धनी होस् अथवा निर्धन, अल्लाह दुवैको हितैषी छ । तसर्थ तिमीले आफ्नै स्वार्थको पछि लागि न्यायलाई नछाडिदिनु । यदि तिमीले कुरा बङ्ग्याएर गवाही दिन्छौ वा साक्षी दिनुबाट पन्छिन्छौ भने (यादराख) अल्लाह तिम्रो सबै क्रियाकलाप राम्ररी जान्दछ ।