سورة الزمر

الترجمة النيبالية

Traduction de la Sourate Les groupes en النيبالية de الترجمة النيبالية

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

१) यस किताबको अवतरण अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शीको तर्फबाट हो ।
२) हामीले यो किताब तिमीतिर सत्यताको साथ अवतरित गरेका हौं, तसर्थ तिमी अल्लाहको उपासना गर, धर्मलाई खास उसैको निम्ति विशेष गरेर ।
३) खबरदार ! उपासना खास अल्लाहकै लागि हो । र जसले उस बाहेक अरु मित्र बनाएका छन् र भन्दछन् किः ‘‘हामीले यिनीहरूलाई यसकारण पूज्दछौं कि हामीलाई अल्लाहको सामीप्यता प्राप्त गराइदिउन् ।’’ निश्चय नै अल्लाहले उनीहरूको बीचमा त्यस कुराको फैसला गरिदिनेछ जसमा उनीहरूले विवाद गरिराखेका छन् । अल्लाहले उसलाई मार्ग देखाउँदैन जो झूठो र अकृतज्ञ छ ।
४) यदि अल्लाहले आफ्नो सन्तान चाहेको भए, उसले आफ्नो सृष्टिहरूमध्येबाट, जसलाई चाहन्थ्यो, रोजिहाल्थ्यो । तर ऊ त उच्च छ ! उही अल्लाह एक्लै र सबैमाथि शक्तिमान् छ ।
५) उसैले आकाशहरू र धरतीलाई अत्यन्त राम्रो ढंगले सृष्टि गरेको छ । उसले रातीलाई दिनमाथि र दिनलाई रातीमाथि लपेटिदिन्छ र उसैले सूर्य र चन्द्रलाई (नियन्त्रणमा राखेर) काममा लगाएको छ । सबै एक निर्धारित समयसम्म संचालित छन् । निश्चित मान ऊ अधिपत्यशाली र क्षमाशील छ ।
६) उसले तिमी सबैलाई एक ज्यानबाट सृष्टि गर्यो, अनि उसैबाट जोडी बनायो र उसैले तिम्रो निम्ति चौपायामध्ये आठ जोडीहरू (भाले–पोथी) बनायो । उसैले तिम्रा आमाहरूको पेटमा एउटा आकारपछि अर्को आकारमा सृजना गर्दछ तीन–तीन अँध्याराहरूमा । उही अल्लाह तिम्रो पालनकर्ता हो । सत्ता उसैको हो, उसबाहेक कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ बहकिरहेका छौ ?
७) यदि तिमी अकृतज्ञता प्रकट गर्दछौ भने सम्झिराख अल्लाह तिमी सबैसित निस्पृह छ । र उसले आफ्ना भक्तहरूको कृतघ्नता रुचाउँदैन, र यदि तिमी कृतज्ञता प्रकट गर्दछौ भने, उसले यसलाई तिम्रो निम्ति रुचाउनेछ । कसैले अर्काको लागि कुनै बोझ उठाउँदैन । अनि तिमीहरू सबैलाई आफ्नो पालनकर्तातिर फर्किजानु पर्नेछ । र उसले तिमीलाई बताइदिनेछ, जे तिमीले गरिराखेका हुनेछौ । निश्चय नै उसले छातीभित्रको कुरा पनि जान्दछ ।
८) र जब मानिसलाई कुनै कष्ट पुग्दछ तब राम्रो एकाग्र भएर आफ्नो पालनकर्तालाई पुकार्दछ अनि जब अल्लाहले उसमाथि आफ्नो अनुकम्पा गर्दछ, तब त्यसले त्यस कुरालाई बिर्सिहाल्दछ जसको निम्ति पहिला पुकारिराखेको थियो, र अल्लाहको समकक्षी ठहराउन थाल्दछ, ताकि यसको परिणामस्वरूप त्यसले उसको मार्गबाट अरुलाई पनि विचलित गराइदेओस् । तपार्इं भनिदिनुस् कि आफ्नो इन्कारको फाइदा केही दिनसम्म लिइहाल । अन्ततः तिमी नरकीहरूमध्येका हुनेछौ ।
९) त्यो व्यक्ति जसले रातको समयमा सजदा (उपासना) गर्दछ र उपासनामा उभिरहन्छ, आखिरतसित डर्छ र आफ्नो पालनकर्ताको दयाको आशा राख्दछ त्यो र यसको विपरीत गर्नेवाला के बराबर हुन सक्दछन् ? भन कि ‘‘के उनीहरू जो ज्ञानी छन् र उनीहरू जो अज्ञानी छन् दुवै समान हुनेछन् ? निश्चितरूपले शिक्षा त तिनैले ग्रहण गर्छन् जो बुद्धिवाला (सक्षम) छन् ।’’
१०) भनिदिनुस् कि ‘‘हे ईमानवाला सेवकहरू आफ्नो पालनकर्तासित डर । जसले संसारमा असल कर्म गरेर देखाए, उनीहरूको निम्ति राम्रो प्रतिफल छ, र अल्लाहको धरती फराकिलो छ । धैर्यवानहरूकै निम्ति पूरा पूरा अनगिन्त पुरस्कार दिइन्छ ।
११) तपार्इं भनिदिनुस् कि ‘‘मलाई आदेश भएको छ कि अल्लाहको उपासना यस्तो गरूँ कि उपासना उसैको निम्ति समर्पित गरिसकूं ।
१२) र यो पनि मलाई आदेश भएको छ कि सबभन्दा बढी म स्वयम् आज्ञाकारी बनूँ ।’’
१३) भनिदिनुस् कि ‘‘मलाई त आफ्नो पालनकर्ताको अवज्ञागर्दा ठूलो दिनको यातनाको भय लाग्दछ ।’’
१४) भनिदिनुस् कि म त पूर्णरूपले मात्र आफ्नो अल्लाहको उपासना गर्दछु ।
१५) (अब) तिमी उसबाहेक जसलाई चाहन्छौ उपासना गर ।’’ (घाटामा हुनेछौ) भनिदिनुस् ‘‘वास्तवमा नोक्सानीवाला तिनै हुन् जसले स्वयम् आफूलाई र आफ्ना परिवारहरूलाई कियामतको दिन घाटामा पारिहाले’’ । जानिराख, यही स्पष्ट घाटा हो ।
१६) उनीहरूलाई उनीहरूको माथिबाट र उनीहरूको तलबाट पनि अग्निको ज्वालाका पात्रहरूले ढाँक्नेछन् । यी नै (ती कुराहरू) हुन्, जसबाट अल्लाहले आफ्नो सेवकहरूलाई डराउँछ, अतः हे मेरा सेवकहरू ! मसित डर मान्नेगर ।’’
१७) र जसले मूर्तिहरूको पूजालाई परित्याग गरेर अल्लाहतिर प्रवृत्त भए, उनीहरूको निम्ति शुभसन्देश छ, (तसर्थ) मेरा सेवकहरूलाई खुशीको सन्देश सुनाइदिनुस् ।
१८) जसले कुरा ध्यानपूर्वक सुन्दछन् र राम्रो कुराको अनुपालन गर्दछन् यिनै ती मानिसहरू हुन् जसलाई अल्लाहले मार्गदर्शन प्रदान गर्यो र यिनै बुद्धि र विवेकवाला पनि हुन् ।
१९) त के त्यो व्यक्ति जसको लागि सजायको कुरो प्रमाणित भइसकेको छ तपाईंले (उसलाई) नर्कबाट मुक्त गराउन सक्नुहुन्छ ?
२०) हो, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, तिनीहरूको निम्ति उच्च महलहरू छन् जसको माथि पनि उच्च कक्षहरू हुनेछन् (र)उनीहरूका मुनि नहरहरू बगिराखेका छन् । (यो) अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लंघन गर्दैन ।
२१) के तपाईले देख्नुभएन कि अल्लाहले आकाशबाट पानी झार्छ, अनि त्यसलाई धरतीको सतहमा पुर्याउँछ । अनि त्यसैबाट अनेक प्रकारका खेतीहरू उब्जाउँछ, फेरि तिनीहरू सुक्छन् र तपाईंले तिनलाई पहेलो रङ्गमा देख्नुहुन्छ । अनि उसले तिनलाई चूरचूर गरिदिन्छ । यसमा बुद्धिमानहरूको निम्ति धेरै शिक्षा छ ।
२२) के जुन मानिसको हृदय अल्लाहले इस्लामको लागि खोलिदिएको छ, र त्यसले आफ्नो पालनकर्ताबाट प्रकाश प्राप्त गरेको छ, अतः उनीहरूमाथि अफसोच छ, जसका हृदय अल्लाहको यादबाट खाली भई कठोर भइसकेका छन् यी मानिसहरू नै खुल्लमखुल्ला मार्गविचलनमा (ग्रस्त) छन् ।
२३) अल्लाहले सर्वोत्तम वाणी अवतरित गरेको छ जुन यस्तो किताब हो जसका आयतहरू आपसमा मिल्दछन्, र दोहोर्याइन्छन्, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, त्यसबाट उनीहरूको शरीरका रौंहरू डरले ठाडो हुन्छन्, अन्तमा उनको शरीर र हृदय अल्लाहको वर्णनको लागि नरम र त्यस तर्फ प्रवृत्त हुन्छन् । यो अल्लाहको मार्गदर्शन हो, त्यसबाट उसले जसलाई चाहन्छ सोझो मार्गमा हिंडाउँछ, र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको निम्ति कोही मार्गदर्शक हुँदैन ।
२४) अब जसले कियामतको दिन यातनाबाट बच्न आफ्नो अनुहारलाई ढाल बनाउँदछ, त्यस्तो अत्याचारीहरूसित भनिनेछः कि ‘‘आफ्नो कर्मको स्वाद चाख ।’’
२५) उनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा भने । अन्ततः उनीहरूमाथि त्यस ठाउँबाट यातना आइपुग्यो, जसको बारेमा तिनीहरूलाई कल्पना पनि थिएन ।
२६) अनि अल्लाहले उनीहरूलाई सांसारिक जीवनमा पनि अपमानको स्वाद चखायो र अहिले आखिरतको यातना त यसभन्दा पनि ठूलो छ । काश ! उनीहरूले बुझुन् ।
२७) र निश्चितरूपले हामीले यस कुरआनमा मानिसहरूको निम्ति हरेक प्रकारका उदाहरणहरू प्रस्तुत गरिदिएका छौं, ताकि उनीहरूले उपदेश ग्रहण गरुन् ।
२८) यो कुरआन अरबीमा छ, जसमा कुनै त्रुटि (र विवाद) छैन, हुनसक्दछ उनीहरू संयमी बन्न सकुन् ।
२९) अल्लाहले (एउटा) उदाहरण प्रस्तुत गर्दछ कि एउटा व्यक्ति छ, जसको अनेक जिद्दी साझेदारहरू छन् । र एउटा अर्को व्यक्ति, त्यो हो जुन सम्पूर्ण रूपले एउटै व्यक्तिको दास हो । के विशेषताको दृष्टिकोणले दुवैको अवस्था एकसमान हुनेछ ? सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, किन्तु कुरा यो छ कि उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
Verse 30
३०) (हे पैगम्बर !) निश्चित छ तपाईलाई पनि मृत्यु आउनेछ र यिनीहरू पनि मर्नेछन् ।
३१) अनि तिमी सबै कयामतको दिन आफ्नो पालनकर्ताको सामु झगडा गर्नेछौ ।
३२) अनि त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला, जसले अल्लाहको बारेमा झूठ कुरा गर्यो, र जब सत्य कुरा उसको नजिक आयो तब त्यसलाई झूठो बतायो । के जहन्नममा (नर्कमा) इन्कार गर्नेहरूको लागि बासस्थान छैन ?
३३) र जुन व्यक्तिले सत्य कुरा लिएर आयो र जसले त्यसको पुष्टि गर्यो, ती मानिसहरू नै संयमी (असल) हुन् ।
३४) तिनीहरूले जे चाहनेछन्, उनीहरूको निम्ति प्रत्येक चीज उनीहरूको पालनकर्तासँग छ, असल मानिसहरूको यही नै पुरस्कार हो ।
३५) ताकि अल्लाहले उनीहरूका नराम्रा कार्यहरूलाई उनीहरूबाट टाढा हटाइदेओस् । र जुन उत्तम कर्म उनीहरूले गर्दथे, त्यसको उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।
३६) के अल्लाह आफ्नो भक्तहरूको निम्ति पर्याप्त छैन ? यिनीहरूले तपार्इंलाई अल्लाहबाहेक अरुबाट डराइरहेका छन् र जसलाई अल्लाहले मार्गविचलित गरिदेओस्, त्यसलाई कसैले मार्गदर्शन गर्न सक्दैन ।
३७) र जसलाई अल्लाहले मार्गदर्शन गरिदेओस्, त्यसलाई कसैले मार्गविचलित गर्न सक्दैन । के अल्लाह सर्वशक्ति सम्पन्न र बदला लिनेवाल छैन ?
३८) यदि तपार्इं उनीहरूसित सोध्नुहुन्छ कि, ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन्ः कि ‘‘अल्लाहले ।’’ तपार्इं भन्नुस् यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने के अल्लाह बाहेक जसलाई तिमीहरूले पुकार्द्छौ उनीहरूले त्यस कष्टलाई हटाउन सक्दछन् ? वा यदि अल्लाहले ममाथि कुनै कृपा गर्न चाहन्छ भने के उनीहरूले उसको कृपालाई रोक्न सक्दछन् ?’’ तपार्इं भनिदिनुस्ः ! कि मलाई अल्लाह नै पर्याप्त छ, भरोसा गर्नेहरू उसैमाथि भरोसा गर्दछन् ।
३९) भनिदिनुस् कि ‘‘हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ । म पनि कर्म गर्दै जान्छु । शीघ्र नै तिमीलाई थाहा भइहाल्नेछ ।
४०) कि कसमाथि अपमानपूर्ण यातना र सधैँको लागि सजाय आउँछ ?
४१) हामीले त तपार्इंमाथि यो किताब मानिसहरूको लागि सत्यका साथ अवतरित गरेका छौं । अतः जसले सिधा मार्ग ग्रहण गर्यो त उसको आफ्नै लागि नाफा छ र जो विचलित भयो, त त्यो विचलित भई आफूलाई नै हानि पुर्याउँदछ । र तपार्इं उनीहरूको जिम्मेवार होइन ।
४२) अल्लाहले नै प्राणहरूलाई उनीहरूको मृत्युको समय र जसको मृत्यु आएन त्यसलाई उसको निद्राको अवस्थामा ग्रस्त गरिहाल्दछ । अनि जसको मृत्युको निर्णय गरिसकेको छ, त्यसलाई रोकिराख्दछ । र अरु प्राणहरूलाई एक निर्धारित समयसम्मको लागि छोडिदिन्छ । निश्चय नै यसमा सोचविचार गर्नेहरूको निम्ति कैयन् निशानीहरू छन् ।
४३) के उनीहरूले अल्लाह बाहेक अरुलाई सिफारिश गर्नेहरू बनाएका छन् ? तपार्इं भनिदिनुस् कि ‘‘चाहे उनीहरू कुनै कुराको पनि अधिकार राख्दैनन् र न केही बुझ्छन्, तैपनि ?’’
४४) भनिदिनुस् ! कि ‘‘सबै सिफारिशको मालिक त अल्लाह नै हो । सबै आकाशहरू र जमिनको सत्ता उसैको लागि छ । अनि तिमी सबै उसैतिर फर्केर जानेछौ ।’’
४५) र जब एक्लो अल्लाहको चर्चा गरिन्छ तब जुन मानिसहरू आखिरतमा विश्वास गर्दैनन् उनीहरूको हृदय घृणाले भरिन्छ, तर जब उस बाहेक अरुहरूको चर्चा आउँदछ तब उनीहरू आनन्दले प्रफुल्ल भइहाल्दछन् ।
४६) तपार्इं भन्नुस् कि ‘‘हे अल्लाह ! आकाशहरू र धरतीको स्रष्टा (र) अदृश्य र प्रकट कुराको ज्ञाता ! तिमीले नै आफ्ना भक्तहरूमा ती कुराहरूको, निर्णय गर्नेछौ जसमा उनीहरूले विवाद गरिराखेका छन् ।’’
४७) यदि अत्याचारीहरूसँग धरतीमा उपलब्ध सबै कुरा र त्यसको साथै त्यति नै अरु पनि हुनेछ भने, त उनीहरूले कयामतको दिन नराम्रो यातनाबाट बच्नको निम्ति ती सबै कुरा दिहाल्नेछन् । र उनको सामु अल्लाहतिरबाट त्यो प्रकट हुनेछ जसको उनीहरूले कल्पना पनि गर्दैन्थे ।
४८) र उनीहरूले जे गरेका थिए त्यसको नराम्रो प्रभाव प्रकट भइहाल्नेछ र जसको (यातनाको) उनीहरूले हाँसो गर्दथे, त्यसले उनीहरूलाई आई घेर्नेछ ।
४९) जब मानिसहरूलाई कुनै कष्ट पुग्छ तब उसले हामीलाई पुर्कादछ अनि जब हाम्रो तर्फबाट उसमाथि कुनै कृपा प्रदान भइसक्छ तब भन्दछः ‘‘कि यो त मलाई मेरो ज्ञानको कारणले प्राप्त भएको छ ।’’ (होइन) बरु यो त एउटा परीक्षा हो, तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।
५०) जुन मानिसहरू यिनीहरूभन्दा अगाडि थिए, उनीहरूले पनि यही भन्ने गर्दथे, तर उनीहरूको कामकुरा उनीहरूलाई केही काम लागेन ।
५१) अनि जेजति उनीहरूले कमाए, त्यसका नराम्रा कुराहरूको प्रभाव उनीहरूमाथि आइपर्यो र यिनीहरूमध्ये पनि जुन मानिसहरूले अत्याचार गरे, यिनीहरूमाथि पनि जे–जति उनीहरूले कमाए त्यसको नराम्रो परिणाम छिट्टै आइहाल्नेछ । र, यिनीहरूले (हामीलाई) हराउन सक्ने छैनन् ।
५२) के उनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका प्रशस्त गरिदिन्छ र जसको निम्ति चाहन्छ सीमित गरिदिन्छ ? यसमा ईमान ल्याउनेहरूको निम्ति ठूला निशानीहरू छन् ।
५३) मेरो तर्फबाट भन्नुस् कि ‘‘हे मेरा भक्तहरू ! जसले आफूमाथि नै अतिक्रमण गरेका छन्, तिमी अल्लाहको दयाबाट निराश नहोऊ । निःसन्देह अल्लाहले सारा पापहरूलाई क्षमा गरिदिन्छ । निश्चय नै ऊ बडो क्षमाशील र अत्यन्त दयावान् छ ।
५४) यसभन्दा पहिला कि तिमीलाई यातना आओस्, आफ्नो पालनकर्तातिर प्रवृत्त होऊ र उसको आज्ञाकारी भइहाल । त्यो यातना आएपछि तिम्रो सहायता गरिने छैन ।
५५) र यसभन्दा पहिला कि तिमीमाथि एक्कासी यातना आओस् र तिमीलाई थाहा पनि नहोस्, त्यस सर्वोत्तम कुराको अनुशरण गर जुन कि तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि अवतरित भएको छ ।
५६) कहीं यस्तो नहोस्, कि कुनै व्यक्तिले भन्न थालोस्ः ‘‘हाय अफसोच ! त्यसमाथि जुन बेवास्ता मैले अल्लाहप्रति गरें र म त उपहास गर्नेहरूमा नै शम्मिलित रहेँ ।
५७) वा यो भन्न थालोस् कि, ‘‘यदि अल्लाहले मलाई मार्गदर्शन गरेको भए म पनि डर मान्नेहरूमध्येको हुने थिएँ ।’’
५८) वा यातना देखेर यो भन्न थालोस्ः कि ‘‘यदि फेरि एकपटक संसारमा मैले जान पाएको भने म असल मानिसहरूमध्येको हुने थिएँ’’ ।
५९) (अल्लाहको आदेश हुनेछ), निःसंदेह मेरा आयतहरू तिम्रो सामु आइपुगेका थिए, जसलाई तिमीले झूठा भन्यौ र घमण्ड गर्यौ र इन्कार गर्नेहरूमा शम्मिलित भयौ ।
६०) जसले अल्लाहको बारेमा झूठा कुरा गरेका छन् तपार्इंले देख्नुहुनेछ कि कयामतको दिन उनका अनुहारहरू काला भइसकेका हुनेछन् । के अहंकारीहरूको बासस्थान नरकमा होइन ?
६१) र जसले संयम गरेका छन्, उनीहरूलाई अल्लाहले उनीहरूको सफलताको साथ मुक्ति प्रदान गर्नेछ । उनीहरूलाई न कुनै अनिष्टले छुन सक्नेछ र नत उनीहरू कुनै प्रकारले शोकाकुल हुनेछन् ।
६२) अल्लाह हरेक कुराको स्रष्टा हो र उही नै हरेक कुराको संरक्षक हो ।
६३) उसैको पासमा आकाशहरू र धरतीका साँचोहरू छन् । जस जसले अल्लाहका आयतहरूलाई इन्कार गरे, तिनैहरू नै घाटामा छन् ।
६४) तपार्इं भन्नुस् किः हे अज्ञानीहरू ‘‘के तिमीले मसँग अल्लाह बाहेक अरु कसैको उपासना गर्न भन्दछौ’’ ?
६५) (र हे मुहम्मद !) निश्चितरूपले तपार्इंमाथि र तपार्इंभन्दा पहिला गुज्रिसकेका (नबीहरू) माथि वह्य पठाइएको थियो कि ‘‘यदि तिमीले शिर्क गर्यौ भने तिमीले गरेका सबैकुरा अनिवार्यरूपले व्यर्थ भइहाल्नेछन् र तिमी अवश्य नै घाटामा पर्नेवालाहरूमध्येका हुनेछौ ।’’
६६) (होइन) बरु तिमी अल्लाहकै उपासना गर र कृतज्ञता प्रकट गर्नेवालाहरूमध्येको भइहाल ।
६७) र उनीहरूले अल्लाहलाई जस्तो सम्मान गर्नु पर्छ गर्न सकेनन्, जबकि कियामतको दिन सम्पूर्ण धरती उसको मुठ्ठीमा हुनेछ र आकाशहरू उसको दाहिने हातमा बेरिएका हुनेछन्, ऊ महान् र उच्च छ त्यस्तो प्रत्येक कुराभन्दा जसलाई उनीहरूले उसको साझेदार ठहराउँछन् ।
६८) र जब सूर फूँकिनेछ तब, जो आकाशमा छन् र जो धरतीमा छन्, सबै मूर्छित भई ढल्नेछन् (तर) जसलाई अल्लाहले चाहन्छ, फेरि दोस्रो पटक सूर फूँकिनेछ, तब तुरुन्तै सबै उभेर हेर्न थाल्नेछन् ।
६९) र धरती आफ्नो पालनकर्ताको प्रकाशले जगमग हुनेछ र कर्मको खाता खोलेर राखिदिइनेछ, पैगम्बर र (अन्य) साक्षीहरू उपस्थित गराइनेछन् र उनीहरूमा इन्साफको साथ निर्णय गरिनेछ र कसैमाथि अन्याय गरिने छैन ।
७०) र जसले जुन कर्म गरेको हुन्छ त्यसलाई त्यसको पूरा–पूर प्रतिफल दिइने छ र जे–जति यिनीहरूले गर्दछन् उसलाई सबै राम्ररी थाहा छ ।
७१) र काफिरहरू समूह–समूहमा नर्कतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यहाँ पुग्नेछन् त त्यसका द्वारहरू तिनीहरूको लागि खोलिदिइनेछन् र त्यसका द्वारपाल उनीहरूसित भन्नेछन्ः ‘‘के तिम्रो पासमा तिमीहरूमध्येबाटै रसूल आएका थिएनन् ? जसले तिमीलाई तिम्रो पालनकर्ताका आयतहरू सुनाइराखेका थिए र तिमीलाई तिम्रो यस दिनको आगमनबाट सचेत गरिराखेका थिए ?’’ उनीहरूले जबाफ दिनेछन्ः ‘‘हो ठीक हो (उनीहरू त आएका थिए)’’ तर इन्कार गर्नेहरूमाथि यातनाको आदेश भएर नै रह्यो ।
७२) भनिनेछः अब नर्कका द्वारहरूमा प्रवेश गर, त्यसमा सधैं रहनको निम्ति । घमण्ड (अट्टेरी) गर्नेहरूको निम्ति साह्रै नराम्रो बासस्थान हो ।
७३) र जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्दथे, उनीहरू समूह–समूह गरी स्वर्गतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यसको नजिक पुग्नेछन्, त त्यसका द्वारहरू खोलिदिइनेछन् र त्यसका द्वारपालले उनीहरूसित भन्नेछन्ः कि ‘‘तिमीमाथि सलाम । तिमी प्रफुल्लित भइहाल । अब यसमा सधैंको निम्ति प्रवेश गरिहाल ।
७४) यिनीहरूले भन्नेछन् किः ‘‘अल्लाहको कृपा छ जसले आफ्नो वाचा हामीसित पूरा गरेर देखायो, र हामीलाई यस स्थानको उत्तराधिकारी बनाइदियो, कि हामी स्वर्गमा जुन ठाउँमा चाहन्छौं, बस्न सक्छौं । अतः (असल) कर्म गर्नेहरूको निम्ति कति राम्रो प्रतिफल छ ।
७५) तिमीले फरिश्ताहरूलाई देख्नेछौ कि उनीहरू सिंहासनको चारैतिर पंक्तिबद्ध भई आफ्नो पालनकर्ताको गुणगान गरिराखेका हुन्छन् । र यिनीहरूबीच राम्रो फैसला (न्याय) गरिनेछ र भनिनेछः ‘‘सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जो सम्पूर्ण जगतको पालनकर्ता हो” ।
تقدم القراءة