ترجمة معاني سورة يونس باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
ﭑﭒﭓﭔﭕﭖ
ﭗ
१) अलिफ–लाम–रा, यो ठूलो बिवेचनाको किताबका आयतहरू हुन् ।
آية رقم 2
२) के मानिसहरूलाई आश्चर्य लाग्यो कि हामीले तिनीहरूमध्येबाट नै एउटा मानिसलाई आदेश पठायौं कि मानिसहरूलाई चेतावनी सुनाइदेऊ र ईमान भएकाहरूलाई शुभसन्देश दिइहाल कि उनीहरूको पालनकर्ताकहाँ उनीहरूलाई पूरा प्रतिफल र उच्च स्थान प्राप्त हुनेछ । काफिरहरूले भने कि यो मानिस स्पष्टरूपमा जादूगर हो ।
آية رقم 3
३) निःसन्देह तिम्रो पालनकर्ता त अल्लाह नै हो, जसले आकाश र पृथ्वीलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि आफू सिंहासनमाथि उच्च भयो । उसैले प्रत्येक कुराको प्रबन्ध र सञ्चालन गर्दछ । कसैले (उसको समीपमा) उसको अनुमति प्राप्त नगरिकन सिफारिश गर्न सक्तैन । यही अल्लाह तिम्रो पालनकर्ता हो, तसर्थ उसैको पूजा गर । के तिमीहरू अझै उपदेश ग्रहण गर्दैनौ ।
آية رقم 4
४) तिमी सबैले फर्केर उसैको समीप जानु छ । अल्लाहको वाचा सत्य छ । निःसन्देह उसैले सृष्टिको प्रक्रिया प्रारम्भ गर्दछ र निरन्तरता प्रदान गर्दछ ताकि ईमानवाला र सत्कर्म गर्नेहरूलाई न्यायोचितरूपले पुरस्कार प्रदान गर्न सकोस् । र जो काफिर छन् तिनीहरूको निम्ति अत्यन्त उम्ली रहेको पिउने पानी र कष्टदायक सजाय हुनेछ त्यस इन्कारको बदलामा जुन उनीहरूले गरे ।
آية رقم 5
५) ऊ अल्लाह नै त हो जसले सूर्यलाई प्रकाशमान र चन्द्रलाई ज्योतिमय बनायो र यसको लागि विभिन्न स्थितिहरू स्थापित गर्यो, ताकि तिमीले वर्षहरूको गणना र हिसाब थाहा पाउने गर । यी सबै कुराहरू अल्लाहले सत्यको साथ सृष्टि गरेको छ । बुझ्नेहरूको लागि उसले आफ्ना आयतहरू स्पष्टरूपमा वर्णन गर्दैछ ।
آية رقم 6
६) निःसन्देह रात र दिनको एक अर्कापछि आगमन र जुन कुराहरू अल्लाहले आकाश र पृथ्वीमा सृष्टि गरेको छ सबैमा अल्लाहसँग डर मान्नेहरूको लागि निशानीहरू छन् ।
آية رقم 7
७) जसले हामीसँग साक्षात्कार हुने कुरामा आशा राखदैनन् र सांसारिक जीवनमा सन्तुष्ट छन् र हाम्रा निशानीहरूतिर ध्यान दिइराखेका छैनन् ।
آية رقم 8
ﭡﭢﭣﭤﭥﭦ
ﭧ
८) तिनीहरूको बासस्थान, तिनीहरूको क्रियाकलापको कारण, नर्क (हुने) छ ।
آية رقم 9
९) निःसन्देह जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे तिनीहरूलाई पालनकर्ताले तिनीहरूको ईमानको कारण मार्ग दिखाउने छन् । वरदानका बगैंचाहरूमा जसमुनि नहरहरू बगिराखेका हुनेछन् ।
آية رقم 10
१०) उनीहरूको मुखबाट (प्रार्थना) उच्चारित हुनेछ अल्लाह गौरवपूर्ण छ र आपसमा भेटको बेला दुआ ‘‘सलामुन् अलैकुम’’ हुनेछ र तिनीहरूको अंतिम भनाई यो हुनेछ कि सम्पूर्ण ब्रह्माण्डको स्वामी र पालनकर्तालाई सम्पूर्ण प्रशंसा छ ।
آية رقم 11
११) र यदि अल्लाहले मानिसहरूको नोक्सानी गर्न हतार गर्ने भए, जुन प्रकारले तिनीहरूले फाइदाको निम्ति हतार गर्दछन्, भने उनको वचन उहिले नै पूरा भइसक्ने थियो । तसर्थ जुन मानिसहरूलाई हामीसम्म आउने कुराको यकीन छैन, त्यस्तालाई हामीले त्यसै छाडी दिन्छौ, ताकि आफ्नो अटेरिपनामा भौतारि रहुन् ।
آية رقم 12
१२) र मानिसलाई जब कुनै कष्ट पुग्छ त पल्टेको, बसेको र उभेको (अवस्थामा) हामीलाई पुकार्दछ । तर जब हामीले उसको कष्ट हटाइदिन्छौं त यस किसिमबाट आफ्नो बाटो लाग्छ मानौं त्यसले हामीलाई कहिल्यै पुकारेकै थिएन । यस प्रकार सीमा उल्लंघनकारीहरूलाई तिनीहरूका क्रियाकलापहरूलाई आकर्षक देखाइएको छ ।
آية رقم 13
१३) र तिमीभन्दा अघि हामीले अनेक समूहहरूलाई नष्ट गरिसकेका छौं, जब तिनीहरूले अत्याचार गरे र तिनीहरूको समीपमा पैगÞम्बरले स्पष्ट प्रमाणहरू लिएर आए, तर तिनीहरूले ईमान ल्याउनेवाला थिएनन् । हामीले अपराधीहरूलाई यस्तै सजाय दिने गर्दछौं ।
آية رقم 14
१४) अनि हामीले तिनीहरू पछि तिमीलाई धरतीको उत्तराधिकारी बनायौं ताकि हामीले हेर्न सकौं कि तिमीले कसरी काम गर्दछौ ।
آية رقم 15
१५) र जब तिनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाइन्छ, जुन बिल्कुल स्पष्ट छन् त जसलाई हामीसँग साक्षात्कारको विश्वास छैन, तिनीहरूले भन्दछन्ः कि यस बाहेक अरु कुनै कुरआन (बनाएर) ल्याउनुस् वा यसलाई परिवर्तित गरिहाल्नुस् । तपाई भनिदिनुस् कि मलाई आफ्नो तर्फबाट यसमा परिवर्तन गर्ने अधिकार छैन । म त, त्यही आदेशको पालना गर्दछु जुनकि मलाई उहाँ मार्फत पठाईन्छ । यदि मैले आफ्नो पालनकर्ताको आदेश उल्लंघन गर्ने भए मलाई ठूलो दिनको सजायको भय छ ।
آية رقم 16
१६) तपाई यो पनि भनिदिनुस् कि यदि अल्लाहले चाहेको भए, नत म यो (किताब) तिमीलाई पढेर सुनाउँथे र न उसैले तिमीलाई यस सम्बन्धमा अवगत गराउने थियो । यसभन्दा अगाडि म तिमीहरूको माँझमा (सम्पूर्ण) जीवन अवधि बिताउँदै आइराखेको छु । र (कहिल्यै यस्तो भनेको छैन) के तिमी यो कुरा बुझ्दैनौ ?
آية رقم 17
१७) तसर्थ त्योभन्दा ठूलो अत्याचारी को हुनसक्छ, जसले अल्लाहको बारेमा झूठो भन्छ वा उसको आयतहरूलाई असत्य ठान्दछ । निःसन्देह यस्ता अपराधीहरू सफलता पाउने छैनन् ।
آية رقم 18
१८) र यी (मानिसहरू) अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन्, जसले तिनीहरूको न केही बिगार्न सक्तछन् र न सपार्न सक्तछन् र भन्दछन् कि यिनीहरूले अल्लाहको समीपमा हाम्रो सिफारिश गर्नेछन् । तपाई भनिदिनुस् कि के तिमीले अल्लाहलाई यस्तो कुराबारे भन्दछौ, जसको जानकारी उसलाई छैन र त्यसको अस्तित्व आकाशहरूमा र पृथ्वीमा छैन । ऊ पवित्र छ, र तिनीहरूको शिर्क (अल्लाहसँग अरुलाई दाँज्नु) भन्दा धेरै उच्च छ ।
آية رقم 19
१९) र सबै मानिसहरू (अघि) एउटै समुदाय थिए । पछि विवादको सृजना भयो र यदि एउटा कुरो जुन तिम्रो पालनकर्ताबाट पहिला भइसकेको छ, नभएको भए, जुन कुरामा तिनीहरूले विवाद गरिराखेका छन्, त्यसमा तिनीहरूको निर्णय भइसक्ने थियो ।
آية رقم 20
२०) र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन आएन । भनिदिनुस् कि गैब (अदृश्य)को ज्ञान त मात्र अल्लाहलाई नै छ, अतः तिमीले प्रतीक्षा गर । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
آية رقم 21
२१) र जब हामीले मानिसहरूलाई दुःख पुगेपछि आफ्नो दयाले सुखको स्वाद चखाउँछौ, त्यतिखेर तिनीहरूले हाम्रा आयतहरूको बारेमा षड्यन्त्र गर्न थाल्छन् । तपाई भनिदिनुस् कि अल्लाहले छिट्टै आफ्नो योजना सम्पन्न गर्नेवाला छ र जुन षड्यन्त्रपूर्ण योजना तिमीले बनाइराखेका छौ, हाम्रा फरिश्ताहरू ती सबै लेखिराखेका छन् ।
آية رقم 22
२२) उही अल्लाह हो, जसले तिमीलाई जंगल र समुन्द्रमा हिंडने योग्य बनाएको छ, यहाँसम्म कि जब तिमीहरू डुङ्गाहरूमा (सवार) हुन्छौ र ती डुङ्गाहरूले त्यसमा यात्रा गर्नेहरूलाई लिएर अनुकूल हावाको मद्दतले हिंड्न थाल्छन् र तिनीहरू त्यसबाट निकै आनन्दित हुन्छन्, अनि एउटा तूफानी हावा चल्न थाल्छ र चारैतिरबाट तरङ्गहरू उठ्न थाल्दछन् र तिनीहरूलाई लाग्दछ कि (अहिले त) तरङ्गहरूबाट नराम्रोसंग घेराइसकेका छन्, त्यतिखेर अल्लाहलाई नै शुद्ध नीयतले पुकार्दछन् कि यदि हामीलाई यसबाट मुक्त गराइदिन्छौ भने हामी धेरै आभारी हुनेछौं ।
آية رقم 23
२३) तर जब अल्लाहले तिनीहरूलाई बचाइदिन्छ तब तिनीहरूले तुरुन्तै पृथ्वीमा त्यसै घृष्टतापूर्वक उपद्रव गर्न थाल्छन् । मानिसहरू हो ! तिम्रो यो उद्दण्डता तिम्रो लागि नै हानिकारक हुनेछ । सांसारिक जीवनका केही फाइदा छन् तर फेरि तिमीले हाम्रै समीपमा फर्केर आउनु पर्नेछ अनि हामीले तिमीलाई तिमीले गरेको सबै देखाउने छौं ।
آية رقم 24
२४) संसारको जीवनको अवस्था यस्तो छ जस्तो कि हामीले आकाशबाट पानी बर्सायौं, अनि त्यसलाई पृथ्वीमा मिसाई त्यसबाट बनस्पति उब्जायौं, जसलाई मानिस र पशुहरूले खान्छन् । यहाँसम्म कि पृथ्वी बनस्पतिले मनोरम र विभूषित भइहाल्यौ र मानिसहरूले ठान्नथाले कि त्यसमाथि तिनीहरूको पूरा अधिकार भइसक्यो । अनि एक्कासि राति वा दिनमा हाम्रो आदेश आइपुग्यो, अनि हामीले त्यसलाई काटेर यस्तो गरिहाल्यौं जस्तो कि त्यहाँ हिजोसम्म केही छँदै थिएन । जो चिन्तन गर्ने मानिसहरू छन् तिनीहरूको निम्ति यसरी नै हामीले आफ्ना निशानीहरू खुलस्त रूपमा वर्णन गर्दछौं ।
آية رقم 25
२५) र अल्लाह सलामती (भलाई)को घरतिर तिमीलाई बोलाउँछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ।
آية رقم 26
२६) जसले असल काम गरे तिनीहरूको निम्ति राम्रो प्रतिफल छ र (केही) बढी पनि । र तिनीहरूको अनुहार न अध्यारो हुनेछ र न त अपमानित हुने छ । यिनीहरू स्वर्गबासी हुनेछन् र तिनीहरू सदाको लागि त्यहाँ बास गर्नेछन् ।
آية رقم 27
२७) र जसले नराम्रा काम गरे, तिनीहरूको दुष्कर्मको प्रतिफल पनि त्यस्तै नै हुनेछ र अपमानले तिनीहरूको अनुहारलाई ढाक्नेछ, र कोही पनि तिनीहरूलाई अल्लाहको क्रोधबाट बचाउनेवाला हुनेछैन । तिनीहरूको अनुहारको कालोपनको अवस्था यस्तो हुनेछ जस्तो कालो रातिका अनेक परतहरूबाट छोपिएका छन् । यिनीहरू नर्कमा जाने हुन्, र सधैं त्यसैमा रहनेछन् ।
آية رقم 28
२८) र त्यो दिन पनि वर्णन योग्य छ जुनदिन तिनीहरूलाई एकत्रित गर्नेछौं । अनि हामीले मुश्रिकहरूसित भन्ने छौः कि तिमी र तिमीले ठहर्याएका साझेदारहरू आ–आफ्ना ठाउँहरूमा उभिराख । अनि हामीले तिनीहरूमा मतभेद गराइदिन्छौं तिनीहरूका साझेदारहरूले भन्ने छन्ः कि तिमीले हामीलाई त पूज्ने गर्दैनथ्यौ ।
آية رقم 29
२९) हाम्रो तिम्रो बीचमा अल्लाह नै साक्षीको रूपमा पर्याप्त छ । हामी तिम्रो पूजाबाट अनभिज्ञ थियौं ।
آية رقم 30
३०) त्यहाँ प्रत्येक मानिसले आफ्नो पहिलाका कार्यहरूको निरीक्षण गर्नेछ र तिनीहरूले आफ्नो वास्तविक स्वामीतिर फर्कने छन्, र तिनीहरूले गढेका सबै झूठा कुराहरू हराउने छन् ।
آية رقم 31
३१) (तिनीहरूसँग) तपाईले भन्नुस् कि तिमीलाई आकाश र जमिनबाट जीविका कसले प्रदान गर्दछ वा तिम्रो कान र आँखामाथि कसको अख्तियारी छ र मृतकबाट प्राणवाला कसले बनाउँछ र प्राणवानबाट प्राणहीन कसले गर्दछ ? र त्यो को हो जसले सबै कामको योजना बनाउँछ ? त तिनीहरूले अवश्य भन्ने छन् ‘‘अल्लाह’’, तसर्थ भन्नुस् कि त्यसो भए तिमी (अल्लाहसँग) किन डर मान्दैनौ ?
آية رقم 32
३२) यही अल्लाह नै त तिम्रो वास्तविक पालनहार हो, र सत्य कुरा प्रकट भइसकेपछि पथभ्रष्टता बाहेक अरु बाँकी नै के रहन्छ र ? तसर्थ तिमी किन असल बाटोबाट टाढिदै गएका छौ ?
آية رقم 33
३३) यस प्रकार अल्लाहका यी शब्दहरू उल्लंघनकारीहरूमाथी प्रमाणित भइसकेको छ, कि उनीहरू ईमान ल्याउने छैनन् ।
آية رقم 34
३४) तपाईले भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये यस्तो को छ ? जसले पहिलो पटक पनि सृष्टिको प्रारम्भ गरोस् र त्यसलाई दोस्रो पटक पनि दोहोरयाओस् । तपाईले भनिदिनुस् कि त्यो अल्लाह नै हो जसले सृष्टिको शुरूआत गर्दछ र त्यसको पुनरावृति पनि गर्दछ, तसर्थ तिमी कहाँ पथभ्रमित भइराखेका छौ ?
آية رقم 35
३५) तपाई भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये यस्तो कोही छ जसले सत्यको मार्ग देखाउन सक्तछ ? भनिदिनुस् कि अल्लाहले नै सत्यको मार्ग देखाउँछ । अनि के जसले सत्यको मार्ग देखाउँछ, त्यो यस योग्य छ कि त्यसको अनुशरण गरियोस् अथवा त्यो जसलाई जबसम्म मार्ग न देखाइयोस् तबसम्म आफै बाटो पाउँदैन ? तसर्थ तिमीलाई के भएको छ, तिमी कस्तो फैसला गर्दछौ ?
آية رقم 36
३६) र तिनीहरूमध्ये धेरै जसोले मात्र अनुमानको भरमा हिड्दैछन् र सत्यको अगाडि अनुमानको कुनै उपादेयता छैन निःसन्देह अल्लाह तिम्रा कामहरूलाई जान्दछ ।
آية رقم 37
३७) र यो कुरआन यस्तो छैन कि अल्लाह बाहेक अरु कसैले आफ्नो तर्फबाट रचेर ल्याउन सकोस् । अपितु यसले जुन ग्रन्थहरू यसभन्दा अगाडिका छन् तिनीहरूलाई प्रमाणित गर्दछ र आवश्यक निर्देशनहरूको यसमा विवरण छ । यसमा कुनै शंका छैन कि यो पालनकर्ताबाट प्रदान गरिएको हो ।
آية رقم 38
३८) के यिनीहरूले यो भन्दछन्ः पैगम्बरले त्यसलाई आफ्नो तर्फबाट रचेका हुन् । भनिदिनुस् कि यदि साँचो हौ भने तिमीले पनि यस्तै प्रकारको एक सूरः बनाएर ल्याऊ र अल्लाह बाहेक जसलाई तिमी बोलाउन सक्छौ बोलाइहाल यदि तिमी साँचो छौ ।
آية رقم 39
३९) वास्वविकता यो हो कि जुन कुराको ज्ञानमाथि नियन्त्रण प्राप्त गर्न सकेनन् त्यसलाई झूठा भनी आरोप लगाए, र यसैले यसको सत्यता उनीमाथि प्रकट नै भएको छैन । यसैगरी जो मानिसहरू यिनीहरूभन्दा पहिला थिए तिनीहरूले पनि झूठ भनेका थिए, तसर्थ हेर्नुस् अत्याचारीहरूको परिणाम कस्तो भयो ?
آية رقم 40
४०) र यिनीहरूमध्ये केही त यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउने छन् र केही यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउने छैनन् । र तपाईको पालनकर्ताले उपद्रवीहरूलाई राम्ररी जान्दछ ।
آية رقم 41
४१) र यदि यिनीहरूले तपाईलाई झूठा भन्दछन् भने भनिदिनुस् कि मलाई मेरो कर्म र तिमीलाई तिम्रो कर्म छ । तिमी मेरा कर्महरूको उत्तरदायी छैनौ र ममाथि तिम्रा कर्महरूको जवाफदेही छैन ।
آية رقم 42
४२) र यिनीहरूमध्ये केही यस्ता छन्, जसले तपाईतिर कान थापि बसेका छन् । त के तपाईले बहिराहरूलाई सुनाउनु हुन्छ, यद्यपि तिनीहरू केही पनि बुझ्ने गर्दैनन् ।
آية رقم 43
४३) र तिनीहरूमध्ये केही यस्ता छन् जसले तपाईतिर हेर्दैछन्, त के तपाईले अन्धाहरूलाई बाटो देखाउनु हुन्छ, यद्यपि उनी केही पनि देख्ने छैनन् ।
آية رقم 44
४४) यो निश्चित कुरा हो कि अल्लाहले त मानिसहरूमाथि केही अत्याचार गर्दैन, तर मानिसहरू आफूले नै आफूमाथि अत्याचार गर्दछन् ।
آية رقم 45
४५) र जुन दिन अल्लाहले तिनीहरूलाई (आफू समक्ष) एकत्रित गर्नेछ त्यसदिनको स्मरण गराउनुस् कि तिनीहरूलाई यस्तो महसूस हुनेछ जस्तो कि दिनको एक घण्टाभन्दा बढी त्यहाँ थिएनन् (र) आपसमा एक अर्कालाई चिन्न उभिएका छन् । जुन मानिसहरूले अल्लाहको अगाडि उपस्थित हुने कुरो झूठा भने, तिनीहरू घाटामा परिहाले र तिनीहरू सहि बाटो पाउन सकेनन् ।
آية رقم 46
४६) र मैले जसको वाचा गरेको छु त्यसमध्येबाट केही यदि मैले तपाईलाई देखाऊँ अथवा तपाईलाई मृत्यु दिऊँ भनेपनि मेरो नजिक उनीहरूले आउनु नै पर्नेछ । फेरि अल्लाह उनीहरूको सबै कर्महरूको साक्षी छ ।
آية رقم 47
४७) र प्रत्येक समुदायको लागि एउटा पैगम्बर पठाइयो, जब तिनीहरूको पैगम्बर आउँछ त उनीहरूमा न्यायपूर्ण तरिकाले फैसला गरिदिइनेछ र तिनीहरूमाथि कुनै अत्याचार गरिदैन ।
آية رقم 48
४८) र यिनीहरूले भन्दछन् कि यदि तिमी साँचो हौ भने यो वाचा कहिले (पूरा) हुनेछ ।
آية رقم 49
४९) भनिदिनुस् कि मलाई त आफ्नो व्यक्तिगत हानि र लाभबारे पनि कुनै अधिकार छैन, त्यस बाहेक जति अल्लाहले इच्छा गर्दछ । प्रत्येक समुदायको लागि (मृत्युको) समय निर्धारित छ । जब निर्धारित समय आइपुग्दछ त एकछिन पनि ढिलो गर्न सक्दैनन् र नत छिटो गर्न सक्तछन् ।
آية رقم 50
५०) भनिदिनुस् कि हेर ! उसको दण्ड यदि तिमीमाथि एक्कासी राती वा दिनमा आइपुग्नेछ, त फेरि सजायमा यस्तो के लाभ छ जुन अपराधीहरूले छिटै माँगिरहेकाछन् ।
آية رقم 51
५१) के त्यो आइसकेपछि मात्र विश्वास गर्नेछौ ? के अब विश्वास गरिहाल्यौ जबकि यसैको निम्ति त तिमीले हतार गर्ने गर्दथ्यौ ।
آية رقم 52
५२) अनि अत्याचारीहरूसित भनिनेछः कि स्थायी दण्डको स्वाद चाख । तिमी त तिमीले गरेकै कर्महरूको प्रतिफल पाएका हौ ।
آية رقم 53
५३) र तिनीहरूले तपाईसँग सोध्छन्ः कि के (यो) सजाय साँचो हो ? भनिदिनुस् हो ‘‘अल्लाहको शपथ छ, त्यो वास्तवमा साँचो हो । र तिमी अल्लाहलाई प्रास्त पार्न सक्ने छैनौ ।
آية رقم 54
५४) र यदि हरेक उल्लंघनकारीसित धर्तीका सम्पूर्ण कुराहरू छन् भने ती सबै कुरा आफू बच्नको लागि दिन तयार हुनेछ । र जब तिनीहरूले सजाय देख्दछन् त लज्जालाई लुकाउनेछन्, र तिनीहरूमा न्यायपूर्ण रूपले फैसला गरिनेछ, र तिनीहरूमाथि कुनै प्रकारको अत्याचार गरिनेछैन ।
آية رقم 55
५५) सुनिराखः कि जे जति आकाशहरू र पृथ्वीमा छन्, सबै अल्लाहकै साम्राज्य हुन् । र यो पनि सुनिराख कि अल्लाहको वचन साँचो छ, तर तिनीहरूमध्ये धेरैजसोले बुझ्दैनन् ।
آية رقم 56
ﭻﭼﭽﭾﭿ
ﮀ
५६) उसैले जीवन दिन्छ, र उसैले प्राण निकाल्छ, र तिमीहरू सबै उसैतिर लगिनेछौ ।
آية رقم 57
५७) हे मानिसहरू ! तिम्रो समीपमा पालनकर्ताको तर्फबाट उपदेश र हृदयका रोगहरूको निम्ति उपचार र मोमिनहरूको लागि मार्गदर्शन र वरदान आइपुगेको छ ।
آية رقم 58
५८) भनिदिनुस्ः कि यो किताब अल्लाहको कृपा र उसैको दयालुताबाट प्रदान गरिएको छ तसर्थ यसबाट मानिसहरू प्रसन्न हुनुपर्छ । यो त्यसबाट धेरै राम्रो छ जुन तिनीहरूले सम्पत्तिको रूपमा थुपार्छन् ।
آية رقم 59
५९) तपाई भन्नुस् कि हेर, अल्लाहले तिम्रो निम्ति जुन जीविका प्रदान गरेको थियो, तिमीले तीमध्ये केहीलाई त्याज्य ठहरायौ र केहीलाई ग्रहणीय, तिनीहरूसित सोध्नुस्, के अल्लाहले तिमीलाई यसको आदेश दिएको थियो वा तिमी अल्लाहमाथि झूठो दोष लगाइराखेका छौ ?
آية رقم 60
६०) र जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरूले कियामतको दिनको बारेमा के विचार गर्दछन् ? निःसन्देह अल्लाह मानिसहरूको निम्ति दयावान छ, तर धेरैजसो आभार प्रकट गर्दैनन् ।
آية رقم 61
६१) र तिमी जुनसुकै अवस्थामा हुन्छौ वा कुरआनबाट केही पाठ गर्छौ वा तिमीहरूले कुनै अन्य कामगर्दा जब त्यसमा संलग्न हुन्छौ, हामी त्यसको जानकारी राख्दछौ र तिम्रो पालनकर्ताबाट कुनै कुरा लेस मात्र पनि लुकेको छैन । न जमिनमा, न आकाशमा र न कुनै कुरा त्यसभन्दा सानो छ वा ठूलो तर स्पष्ट किताबमा लेखिएको छ ।
آية رقم 62
६२) सुनिराखः कि अल्लाहका मित्रहरूलाई न कुनै भय–त्रास हुनेछ र नत तिनीहरू दुःखी हुनेछन् ।
آية رقم 63
ﭜﭝﭞﭟ
ﭠ
६३) यी तिनीहरू हुन् जसले ईमान ल्याए र आत्मसंयमी रहे ।
آية رقم 64
६४) तिनीहरूको निम्ति सांसारिक जीवनमा पनि शुभसन्देश छ, र परलोकमा पनि । अल्लाहको कुरामा परिवर्तन हुँदैन, यहि त ठूलो सफलता हो ।
آية رقم 65
६५) (र हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! ती मानिसहरूका दुर्वचन तिमीलाई दुःखी नपारोस् किनभने सम्पूर्ण मर्यादा अल्लाहकै लागि हो । ऊ सबैकुरा सुन्दछ र जान्दछ ।
آية رقم 66
६६) यादराख कि जे जति आकाशहरूमा छन् र जति पृथ्वीमा छन् सबै अल्लाहकै हुन् । र जसले अल्लाह बाहेक आफूले चाहेको साझेदारहरूलाई पुकार्दछन्, उनीहरू कसको पछि लागेका छन् ? ती मात्र अप्रमाणित कुराहरूको अनुशरण गर्दैछन् र अनुमान मात्र लगाउँदै छन् ।
آية رقم 67
६७) ऊ नै हो जसले तिम्रो निम्ति राति बनायो ताकि यसमा आराम गर र उज्यालो दिन बनायो । निस्सन्देह त्यसमा ध्यानबाट सुन्नेहरूको लागि निशानीहरू छन् ।
آية رقم 68
६८) तिनीहरू भन्दछन्ः कि अल्लाह आफनो लागि एउटा पुत्र ग्रहण गरेको छ । अल्लाहलाई कसैको आवश्यकता छैन, ऊ स्वयं परिपूर्ण र महान छ । जे जति आकाशहरूमा र जे जति जमिनमा छन् ती सबै उसैका हुन् ! तिमीसित यस झूठो कुराको कुनै प्रमाण छैन । तिमीले अल्लाहको बारेमा यस्तो कुरा भन्दछौ जुन जान्दैनौ ?
آية رقم 69
६९) भनिदिनुस्ः कि जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरू सफलता पाउने छैनन् ।
آية رقم 70
७०) तिनीहरूलाई केही फाइदाहरू छन् संसारमै अन्ततः हामीतिरै फर्केर आउनु हुनेछ, त्यति बेला हामीले तिनीहरूलाई कुफ्र गरेको बदलामा कडा सजायको स्वाद चखाउने छौं ।
آية رقم 71
७१) र तपाईले उनीलाई नूहको कथा पढेर सुनाइदिनुस्, जब उनले आफ्नो समुदायसित भने हे मेरा कौमका मानिसहरू ! यदि तिमीलाई तिमीहरूको माझमा मेरो बसाई र अल्लाहका आयतहरूबारे स्मरण गराउन नराम्रो लाग्दछ भने, म त अल्लाहमाथि नै भरोसा राख्दछु, तिमीले आफ्ना साझेदारहरूसँग मिलेर आफ्नो उपाय गरिहाल । तिम्रो उपाय तिम्रो कष्टको कारण नबनोस्, अनि त्यो काम मेरो सम्बन्धमा गरिहाल र मलाई समय नदेऊ ।
آية رقم 72
७२) फेरि पनि यदि तिमीले विमुख नै हुन्छौ भने मैले तिमीबाट कुनै पारितोषिक त माँगेको छैन । मेरो मजदूरी त मात्र अल्लाहसंग छ, र मलाई आदेश दिइएको छ कि म मुसलमानहरूमध्येबाट रहूँ ।
آية رقم 73
७३) तर उनीहरूले उनलाई झूठो मानिराखे, त हामीले उनलाई र जो मानिसहरू उनका साथ डुंगामा सवार थिए, सबैलाई बचाइहाल्यौं, र उनलाई (धर्तीको) उत्तराधिकारी बनायौं, र उनीहरूलाई डुबाई दियौं जसले हाम्रो निशानीलाई झूठो मानेका थिए, यो हेर्नु पर्नेछ कि जुन मानिसहरूलाई सावधान गरिएको थियो, तिनीहरूको कस्तो परिणाम भयो ।
آية رقم 74
७४) अनि नूह(अलैहिस्सलाम) पछि हामीले अरु पैगम्बरहरूलाई तिनीहरूको कौमतर्फ पठायौं, त उनीहरूले तिनीहरूछेउ स्पष्ट निशानीहरू लिएर आए तर तिनीहरूले अघि अस्वीकार गरिसकेको कुरामा विश्वास गर्ने थिएनन् । यसै प्रकार हामीले उल्लंघनकारीहरूको हृदयको द्वार बन्द गरिदिन्छौं ।
آية رقم 75
७५) अनि तिनीहरूपछि हामीले मूसा (अलैहिस्सलाम) र हारून (अलैहिस्सलाम)लाई आफ्ना निशानीहरू दिएर फिरऔन र त्यसका नायकहरूछेउ पठायौं तब तिनीहरूले घमण्ड गरे, र तिनीहरू अपराधी सम्प्रदायका नै थिए ।
آية رقم 76
७६) तसर्थ जब उनीहरूछेउ हाम्रो तर्फबाट सत्य आयो, तब भन्न थाले कि यो निःसन्देह खुल्लमखुल्ला जादू हो ।
آية رقم 77
७७) मूसाले भनेः के तिमीले सत्यको बारेमा जब त्यो तिमीछेउ आयो, यो भन्छौ कि यो जादू हो ? तर जादूगर सफल हुने छैनन् ।
آية رقم 78
७८) तिनीहरूले भने कि के तिमी हाम्रो छेउ यसकारण आएका छौ कि जुन बाटोमा हामी आफ्ना पूर्वजहरूलाई हिंडेका पाएका छौं त्यसबाट हामीलाई विचलित पारीदेऊ, र यस देशमा तिमी दुवैको प्रशंसा स्थापित भइहालोस् । र हामी तिमी दुवैलाई कहिल्यै मान्नेवाला छैनौं ।
آية رقم 79
ﭑﭒﭓﭔﭕﭖ
ﭗ
७९) र फिरऔनले आदेश दियोः कि सबै अनुभवी जादूगरहरूलाई मेरो सामु ल्याऊ ।
آية رقم 80
८०) अनि जब जादूगरहरू आए, तब मूसाले तिनीहरूसित भने कि तिमीहरूले जे जादू गर्न चाहन्छौ गर ।
آية رقم 81
८१) जब तिनीहरूले आफ्ना जादूहरू देखाए तब मूसाले भनेः कि जुन कुरो तिमीले बनाएर ल्याएका छौ, जादू हो । अल्लाहले यसलाई (एकैछिनमा) प्रभावहीन पारिदिन्छ । अल्लाहले यस्ता उपद्रवीहरूको कामलाई सफल पार्दैन ।
آية رقم 82
८२) र अल्लाह आफ्नो आदेशले सत्यलाई नै स्थापित गर्दछ, चाहे अपराधिहरूले त्यसलाई जति नराम्रो माने पनि ।
آية رقم 83
८३) तर मूसालाई धेरैले विश्वास गरेनन् तर उनको कौमका केही मानिसहरू मात्र (त्यो पनि) फिरऔन र त्यसका दरबारीयाहरूसँग डराउँदैं कि त्यसले तिनीहरूलाई दुःख नदेओस् । र फिरऔन त्यस देशमा तागत राख्दथ्यो र निःसन्देह ऊ सिमाउल्लन्घन गर्नेमध्यका थियो ।
آية رقم 84
८४) र मूसाले भनेः हे मेरो कौमका मानिसहरू ! यदि तिमीले अल्लाहमाथि ईमान राख्दछौ भने उसैमाथि भरोसा राख यदि तिमी आज्ञाकारी छौ ।
آية رقم 85
८५) त तिनीहरूले भनेः कि हामी अल्लाहमाथि भरोसा राख्दछौ, हे हाम्रा पालनकर्ता ! हामीलाई अत्याचारीको परीक्षाको साधन नबनाऊ ।
آية رقم 86
ﮮﮯﮰﮱﯓ
ﯔ
८६) र आफ्नो कृपाले काफिरहरूको सम्प्रदायबाट मुक्त गर ।
آية رقم 87
८७) र हामीले मूसा र उनको भाइलाई वह्य पठायौं कि तिमी दुवैले आफ्नो मानिसहरूको निम्ति मिश्रमा केही घर बनाऊ, र आफ्ना घरहरूलाई किब्ला (मास्जिद) बनाऊ र नमाज पढ । र मोमिनहरूलाई शुभसन्देश सुनाइदेऊ ।
آية رقم 88
८८) र मूसाले भनेः हे पालनकर्ता ! तिमीले फिरऔन र त्यसका नायकहरूलाई सांसारिक जीवनमा (प्रशस्त) शोभनीय सामग्री, धन सम्पत्ति दिएका छौ, हे पालनकर्ता ! यस्तो यसलागि कि तिम्रो सही बाटोबाट विचलित गरुन्, हे पालनकर्ता ! यिनीहरूका धन सम्पत्तिलाई नष्ट पारिदेऊ, र यिनीहरूको हृदयलाई कठोर बनाइदेऊ, जसबाट यिनीहरूले ईमान ल्याउन नपाउन् यहाँसम्म कि कष्टदायक सजाय देखुन् ।
آية رقم 89
८९) अल्लाहले आदेश गर्नुभयोः कि तिमीहरूको प्रार्थना स्वीकार गरियो तसर्थ तिमीहरू दृढ रह र बुद्धिहीनहरूको बाटोमा नलाग ।
آية رقم 90
९०) र हामीले बनी इस्राईलको सन्ततिलाई समुन्द्रपार गराइदियौं त फिरऔन र त्यसका सेनाले उनको पछि अत्याचार र अन्यायको इच्छाले हिंडे । यहाँसम्म कि जब ऊलाई डूबाउने संकट आइलाग्यो तब भन्न थाल्योः ‘‘मैले ईमान ल्याएँ जसमाथि बनी इस्राईलले ईमान ल्याएका छन् ऊ बाहेक कोही सत्य पूज्य छैन र म मुसलमानहरू मध्येबाट हूँ ।’’
آية رقم 91
९१) (उत्तर आयो) अहिले विश्वास गर्दछौ हुनत तिमी पहिला आदेशको उल्लघंन गर्दथ्यौ र उपद्रवी थियौ ।
آية رقم 92
९२) आज हामीले तिम्रो लाशको मात्र उद्धार गर्नेछौं, ताकि तिमी पछि आउनेको निम्ति पाठ होऊ । र वास्तविकता यो छ कि धेरैजसो मानिसहरू हाम्रा निशानीहरूबाट अनभिज्ञ छन् ।
آية رقم 93
९३) र हामीले बनी इस्राईललाई बासको निम्ति राम्रो ठाउँको व्यवस्था गर्यौं, र खानाको निम्ति पवित्र कुराहरू प्रदान गर्यौं, तर तिनीहरूले ज्ञान आगमनको बावजूद विरोध गरे । निःसन्देह जुन कुरामा तिनीहरूले विवाद गरिराखेछन्, तिम्रो पालनहारले कियामतको दिन तिनीहरूमा ती कुराहरूको न्याय गर्नेछ ।
آية رقم 94
९४) फेरि यदि तिमीलाई यस (किताबको) बारेमा, जुन हामीले तिमीलाई प्रदान गरेका छौं, केही सन्देह छ भने, जुन मानिसहरूले तिमीभन्दा पहिला (प्रदान गरिएका) किताबहरू पढ्छन्, तिनीहरूसित सोधिहाल, तिम्रो पालनहारको तर्फबाट तिमीलाई सत्य (किताब) आइसकेको छ, तसर्थ तिमी कहिले पनि शंका गर्नेहरूमध्यबाट नहुनु ।
آية رقم 95
९५) र नत ती मानिसहरूमध्ये हुनु जसले अल्लाहका आयतहरूलाई झूठा भन्दछन् अन्यथा हानिमा पर्नेमध्ये हुनेछौ ।
آية رقم 96
९६) निश्चयनै जुन मानिसहरूको बारेमा अल्लाहको आदेश निश्चित भइसकेछ, तिनीहरूले ईमान ल्याउने छैनन् ।
آية رقم 97
९७) चाहे तिनीहरूको समीपमा प्रत्येक प्रकारको निशानी आइहालोस्, यहाँसम्म कि तिनीहरू कष्टदायक यातना देखुन ।
آية رقم 98
९८) अनि यूनुसको समुदाय बाहेक कुनै बस्तीले ईमान ल्याएन, जबकि ईमान ल्याएबाट तिनलाई फाइदा हुन्थ्यो, हो (‘‘यूनुसको’’ कौमले) जब ईमान ल्यायो त हामीले दुनियाँको जिन्दगीमा तिनीहरूबाट तिरस्कारपूर्ण सजाय हटाइहाल्यांै, र एक अवधिसम्म सांसारिक लाभहरू उठाउने तिनीहरूलाई अवसर प्रदान गर्यौं ।
آية رقم 99
९९) र यदि तपाईको पालनकर्ताले चाहेको भए, जति मानिसहरू पृथ्वीमा छन्, सबैले ईमान ल्याइसक्दथे । अतः के तपाई मानिसहरूमाथि जबरजस्ती गर्नुहुन्छ, तिनीहरू मोमिन नभएसम्म ।
آية رقم 100
१००) हुनत कुनै व्यक्तिलाई सामथ्र्य छैन कि अल्लाहको आदेश बिना ईमान लाउन सकोस्, र बुद्धिहीन मानिसहरूलाई अल्लाहले (शिर्कको) फोहोरमा हालिदिन्छ ।
آية رقم 101
१०१) तपाई भनिदिनुस् कि आकाशहरू र पृथ्वीमा भएका सबै कुराहरू राम्रोसंग हेर । तर जुन मानिसहरू ईमान लाएका छैनन् निशानीहरू र चेतावनीबाट तिनीहरू लाभांवित हुने छैनन् ।
آية رقم 102
१०२) तसर्थ जुन प्रकारका घटनाहरू तिनीहरूभन्दा पहिलाका मानिसहरूमाथि बितिसकेका छन् त्यस्तै किसिमका घटनाहरूको प्रतीक्षामा यिनीहरू छन् । भनिदिनुस्ः कि ठीक छ तिमी पनि प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
آية رقم 103
१०३) र हामीले आफ्ना पैगम्बरहरूलाई र ईमान ल्याएकाहरूलाई छुटकारा दिदै आइराखेका छौं । हाम्रो उत्तरदायित्व छ कि मुसलमानहरूलाई छुटकारा प्रदान गर्दैगरौं ।
آية رقم 104
१०४) तपाई भनिदिनुस्ः कि हे मानिसहरू ! यदि तिमीलाई मेरो धर्ममा कुनै प्रकारको शंका छ भने (सुनिराख कि) अल्लाह बाहेक जसको तिमीले पूजा गर्दछौ, म त्यसको पूजा गर्दिन, बरु म उस अल्लाहको पूजा गर्दछु जसले तिम्रो प्राण निकाल्नेछ, र मलाई यो आदेश भएको छ कि ईमान भएकामध्ये रहूँ ।
آية رقم 105
१०५) र यो कि आफ्नो मुख सँधै निष्ठापूर्वक इस्लाम धर्मतिर गरिराख्नु र मुश्रिकहरूमध्येको कहिले नहुनु ।
آية رقم 106
१०६) र अल्लाहलाई छाडि यस्तो कुनै कुराको उपासना नगर्नु जसले कि नत तिम्रो केही भलो गर्न सकोस् नत केही बिगार्न सकोस् । यदि त्यस्तो गर्छौ भने अत्याचारीहरूमध्येको हुनेछौ ।
آية رقم 107
१०७) र यदि अल्लाहले तिमीलाई कुनै कष्ट पुर्याउँछ भने उस बाहेक त्यसलाई कसैले हटाउन सक्दैन, र यदि उसले तिम्रो भलो गर्न चाहन्छ भने उसको कृपालाई कसैले रोक्न सक्दैन, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ फाइदा पुर्याउँछ र ऊ बडो क्षमतादाता अत्यन्त दयालु छ ।
آية رقم 108
१०८) तपाई भनिदिनुस् कि हे मानिसहरू तिम्रो पालनकर्ताबाट तिम्रो छेउमा सत्य आइसकेको छ, तसर्थ जो मार्गदर्शन प्राप्त गर्न चाहन्छ, उसले पथप्रदर्शनबाट आफ्नै निम्ति भलो गर्दछ र जसले मार्गविचलनको बाटो अपनाउँछ उसले पथविचलनबाट आफ्नै नोक्सानी गर्दछ र म तिम्रो हाकिम होइन ।
آية رقم 109
१०९) र (हे पैगम्बर) तपाईलाई जुन आदेश पठाइन्छ त्यसको अनुशरण गर्दै जानुस् र (कष्टहरूमा) धैर्य गर्नुस्, यहाँसम्म कि अल्लाहले स्वयं फैसला गरिहालोस् । ऊ सबभन्दा राम्रो निर्णयकर्ता हो ।
تقدم القراءة