ترجمة معاني سورة الحشر باللغة النيبالية من كتاب الترجمة النيبالية
جمعية أهل الحديث المركزية
آية رقم 1
१) जे जति आकाशहरूमा छन् र जेजति धरतीमा छन्, सबैले अल्लाहको पवित्रताको वर्णन गर्दछन् र ऊ अधिपत्यशाली तत्वदर्शी छ ।
آية رقم 2
२) उही हो, जसले किताबवालाहरूमध्येबाट ती मानिसहरूलाई जसले इन्कार गरे उनीहरूको घरबाट पहिलो भेलाद्वार नै बाहिर निकालिदियो । तिमीलाई अनुमान पनि थिएन कि उनीहरू निस्कने छन् र उनीहरूले ठान्थे कि उनका गढीहरू अल्लाहबाट उनीहरूलाई बचाइहाल्ने छन् तर अल्लाहको क्रोध उनीहरूलाई यस्तो ठाउँबाट आइलाग्यो जसको उनीहरूलाई कल्पना पनि थिएन र उसले उनीहरूको हृदयमा अल्लाहको आतंक फैलाइदियो कि उनीहरू आफ्ना घरहरूलाई स्वयम् आफ्नै हातले र मोमिनहरूको हातबाट उजार्न थाले । अतः हे आँखाले देख्नेवालाहरू ! शिक्षा ग्रहण गर ।
آية رقم 3
३) र यदि अल्लाहले उनीहरूको निम्ति देशनिकाला नलेखिदिएको भए संसारमै पनि उसले उनीहरूलाई अवश्य यातना दिन्थ्यो र परलोकमा त उनीहरूको निम्ति आगोको यातना छँदैछ ।
آية رقم 4
४) यो यसकारण कि उनीहरूले अल्लाह र उसको रसूलको बिरोध गरे । र जो कोहिले पनि अल्लाहको विरोध गर्नेछ त निश्चय नै अल्लाहको यातना साह्रै कठोर छ ।
آية رقم 5
५) (मोमिनहरू !) खजूरको वृक्ष जुन तिमीले काटिहाल्यौ वा जतिलाई आफ्नो जराहरूमा उभिरहन दियौ, यो सबै अल्लाहको आदेशबाट थियो र उद्देश्य यो थियो कि उसले अवज्ञाकारीहरूलाई अपमानित गरोस् ।
آية رقم 6
६) र उनको जुन (माल) अल्लाहले आफ्नो पैगम्बरलाई उनीहरूसित युद्ध बिना दिलाएको छ, (त्यसमा तिम्रो कुनै हक छैन,) किनभने यसको निम्ति तिमीले न घोडाहरू दगुरायौ न ऊँट । तर अल्लाहले आफ्नो रसूलहरूलाई जसमाथि चाहन्छ, अधिपत्य प्रदान गरिदिन्छ । अल्लाहलाई त प्रत्येक कुराको सामथ्र्य छ ।
آية رقم 7
७) जुन माल सम्पत्ति अल्लाहले आफ्नो पैगम्बरलाई कुनै लडाई वा युद्ध बेगर नगरबासीहरूबाट दिलाएको छ । त्यो अल्लाह र पैगम्बर र पैगम्बरका नजिकका नातावालाहरू र अनाथहरू र निमुखाहरू र बटुवाहरूको निम्ति हो, ताकि तिमीहरूमध्ये जो धनवान छन्, उनीहरूकै हातमा घुम्दै नरहीरहोस्, जे–जति कुरा तिमीलाई पैगम्बरले दिन्छन्, त्यो लिइहाल र जुन कुरोबाट मनाही गर्छन्, त्यसबाट पन्छिनु र अल्लाहसित डर्नेगर, निःसन्देह अल्लाह कष्टप्रद सजाय दिनेवाला छ ।
آية رقم 8
८) र ती गरिब आफ्नो घरबार छोड्ने वालाहरूका (मुहाजिर) निम्ति पनि जसलाई आफ्ना घरहरू र सम्पत्तिहरूबाट निकाला गरिदिइएको छ । तिनीहरू अल्लाहको अनुकम्पा र उसको प्रसन्नताको इच्छुक छन् र अल्लाह तथा उसको रसूलको मद्दत गर्छन् । यी मानिसहरू नै साँचै ईमानवाला छन् ।
آية رقم 9
९) र उनीहरूको लागि जसले ‘‘मुहाजिरहरू’’ (प्रवासीहरु) भन्दा पहिला मदीनामा बसिराखे र ईमानमा उनीहरूभन्दा पहिला स्थान बनाएका छन् । र जो हिजरत (प्रवास) गरेर आउँनेहरूसित प्रेम गर्दछन् र जे जति आप्रवासीहरूलाई दिइन्छ, त्यसबाट आफ्नो हृदयमा केही छट्पटी पाउँदैनन्, बरु उनलाई आफूहरूभन्दा बढि प्राथमिकता दिन्छन्, चाहे उनीहरूलाई स्वयं त्यसको आवश्यकता किन नहोस् र जो व्यक्ति आफ्नो मनको लोभ र कञ्जूसीबाट बचाइयो यस्ता मानिसहरू नै सफल छन् ।
آية رقم 10
१०) र यस सम्पत्तिमा उनको पनि (भाग छ) जो उनका पछि आएछन् । उनीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ र हाम्रा ती दाजुभाइहरूलाई पनि जो हामीभन्दा पहिला ईमान ल्याए, र हाम्रा हृदयमा ईमानवालाहरूको निम्ति कुनै विद्धेश र शत्रुता नराख । हे हाम्रो पालनकर्ता ! तिमी निश्चय नै बडो करुणामय अत्यन्त दयावान छौ ।
آية رقم 11
११) के तिमीले ती मुनाफिकहरू (कपटी) लाई देखेनौ, जसले आफ्ना काफिर भाइहरूसित जो किताबवाला छन् भन्ने गर्दछन्, कि यदि तिमीलाई देशनिकाला गरियो भने, निश्चय नै हामी पनि तिम्रो साथमा निस्केर जानेछौं, र तिम्रो बारेमा कहिल्यै कसैको भनाई मान्ने छैनौं, र यदि तिमीसँग लडाई भयो भने तिम्रो सहायता गर्नेछौं, तर अल्लाह साक्षी छ, कि यिनीहरू झूठा छन् ।
آية رقم 12
१२) यदि उनीहरू निकालिए भने यिनीहरू उनको साथमा निस्कने छैनन् र यदि उनीहरूसँग युद्ध भयो भने त उनको सहायता गर्ने छैनन् र यदि सहायता गर्न आउँछन् भने पिठ्यू फर्काइ भागिहाल्ने छन्, अनि उनीहरूलाई कतैबाट पनि सहायता प्राप्त हुनेछैन ।
آية رقم 13
१३) (मुसलमानहरू !) तिम्रो भय ती मानिसहरूको हृदयमा अल्लाहभन्दा पनि बढी छ, यो यस कारण छ कि यिनीहरूले बुझ्दैनन् ।
آية رقم 14
१४) यी सबै मिलेर पनि तिमीसित आमुन्ने–सामुन्ने लड्न सक्दैनन् । तर बस्तीहरूका गढहरूमा शरण लिएर वा पर्खालहरूको पछाडि (लुकेर) रहुन् । उनको आपसमा नै ठूलो लडाई छ । यद्यपि तिमीले यिनीहरूलाई संगठित ठान्दछौ तर उनका हृदय फाटेका (विभाजित) छन् । यो यसकारण कि उनीहरू बुद्धिहीन छन् ।
آية رقم 15
१५) उनीहरूको अवस्था ती मानिसहरूको जस्तो छ, जुन उनीभन्दा केही पहिला आफ्ना कर्महरूको यातनाको स्वाद चाखिसकेका छन् र अहिले उनीहरूको निम्ति कष्टदायक यातना तयार छ ।
آية رقم 16
१६) (मुनाफिकहरूको) उदाहरण शैतानको जस्तो छ, उसले मानिससँग भन्यो कुफ्र गर । त जब त्यो काफिर भइहाल्यो तब भन्न थाल्यो कि मलाई तिमीसित कुनै सरोकार छैन । मलाई त सारा संसारको पालनकर्तासित डर लाग्छ ।
آية رقم 17
१७) तसर्थ दुवैको परिणाम यो भयो कि दुवै नर्कमा गए । सधैं त्यसमा रहनेछन् र अन्यायीहरूको यही दण्ड हो ।
آية رقم 18
१८) हे ईमानवालाहरू ! अल्लाहसित डर र प्रत्येक व्यक्तिले हेर्नुपर्छ कि उसले भोलि कयामतको दिनको निम्ति के कस्तो कर्म पठाएको छ र सधैं अल्लाहसित डर मानिराख निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।
آية رقم 19
१९) र तिमी ती मानिसहरू जस्तो नहुनु, जसले अल्लाहलाई बिर्सिदिए, तब अल्लाहले उनीहरूलाई यस्तो गरिदियो कि स्वयं आफूलाई नै बिर्सिहाले । यिनीहरू अवज्ञाकारी हुन् ।
آية رقم 20
२०) नर्कवाला र स्वर्गवालाहरू समान छैनन् । स्वर्गवाला त सफलता प्राप्त गर्नेवाला हुन् (र नर्कवालाहरू असफल हुन) ।
آية رقم 21
२१) यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले त्यसलाई अल्लाहको भयले चूरा–चूरा भइराखेको देख्नेथ्यौ र यी उदाहरणहरू हामीले मानिसहरूको निम्ति वर्णन गर्दछौं ताकि उनीहरूले गम्भीरतापूर्वक विचार गरुन् ।
آية رقم 22
२२) उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन, अदृश्य र प्रकटको ज्ञाता, बडो कृपाशील, अत्यन्त दयावान छ ।
آية رقم 23
२३) त्यही अल्लाह हो, जस बाहेक कोही सत्य पूजाको योग्य छैन । त्यो सम्राट हो, अत्यन्त पवित्र सबै दुर्गुणबाट मुक्त, शान्तिदाता, संरक्षक, अधिपत्यवाला र शक्तिशाली र महानतायुक्त पवित्र छ अल्लाह त्यस शीर्कबाट जुन उनीहरूले गर्दछन् ।
آية رقم 24
२४) उही अल्लाह हो, जो सृष्टिकर्ता र अस्तित्व दाता हो, रूप दिनेवाला हो उसैका सबै राम्रा नामहरू हुन् । जुनसुकै कुरा चाहे त्यो आकाशहरू वा धरतीमा छ, उसैको गुणगान गरिराखेको छ । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
تقدم القراءة