ترجمة سورة لقمان

الترجمة النيبالية
ترجمة معاني سورة لقمان باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) अलिफ–लाम–मीम् ।
२) यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।
३) जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।
४) जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।
५) यिनै हुन् जो आफ्नो पालनकर्ताको तर्फबाट सत्यमार्गमा छन् र तिनै सफल हुनेछन् ।
६) र कोही यस्ता पनि छन्, जसले कपोलकल्पित कुराहरू किन्दछन्, ताकि मानिसहरूलाई अज्ञानताको साथ अल्लाहको मार्गबाट विचलित गरुन् र त्यसको उपहास गरुन । यी नै हुन् जसका निम्ति अपमानजनक यातना छ ।
७) जब उसको सामु हाम्रा आयतहरूलाई सुनाइन्छ तब घमण्डले यसरी मुख फर्काइहाल्छ, जस्तोकि सुनेकै छैन, मानौ उनका कानहरूमा बिर्काे लागेका छन्, तसर्थ उसलाई तपाईंले दुःखद यातनाको सूचना सुनाइदिनुस् ।
८) निःसन्देह जसले ईमान ल्याए र असल कामहरू गरिरहे, उनीहरूको निम्ति उपहारयुक्त स्वर्गहरू छन् ।
९) तिनीहरू सधैं त्यसमा बास गर्नेछन् । अल्लाहको यो सत्य वचन हो, जो अत्यन्त सम्मानित र अधिपत्यशाली र तत्वदर्शी छ ।
१०) उसैले आकाशहरूलाई स्तम्भ बिना सृष्टि गर्यो जस्तो तिमीले देख्दछौ, र उसले धरतीमा पहाड स्थापित गरिदियो, ताकि यसले तिमीलाई नहल्लाइदेओस्, र त्यसमा हरेक प्रकारका जनावरहरू फैलाइदियो, र हामीले आकाशबाट पानी बर्षाएर पृथ्वीमा हरेक किसिमका सुन्दर जोडाहरू उत्पादन गर्यौं ।
११) यो हो अल्लाहको सृष्टि । अब तिमीहरूले मलाई अल्लाह बाहेक अरु (पूज्यहरू) को कुनै सृष्टि देखाऊ । (त्यस्तो केही छैन) सत्य त यो छ कि यी अत्याचारीहरू स्पष्टरूपले मार्गविचलित छन् ।
१२) र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका थियौं, कि तिमीले अल्लाहप्रति कृतज्ञता दर्शाऊ, र जसले कृतज्ञता प्रकट गर्दछ, त्यो आफ्नो भलोको लागि नै गर्दछ । र जसले कृतज्ञता देखाउँदैन ऊ जानिराखोस् कि अल्लाह वास्तवमा निस्पृह र प्रशंसनीय छ ।
१३) र (स्मरण गर) जब लुकमानले आफ्नो छोरालाई उपदेश गर्दै भनेः कि मेरो प्यारो छोरा ! अल्लाहको साथमा कसैलाई साझेदार नठहराउनु, निश्चय नै शिर्क (बहुदेववाद) ठूलो अत्याचार हो ।
१४) र हामीले मानिसलाई उसको आमा–बाबुको सम्बन्धमा सचेत गरेकाछौं, कि यसको आमाले कष्टमाथि कष्ट सहेर उसलाई गर्भमा बोकी राख्छे र दुई वर्षमा उसको दूध छोडाउनु पर्नेहुन्छ ! जसबाट तिमीले मेरो र आफ्नो आमा बाबुको कृतज्ञता प्रकट गर । (किनकि) मतिरै फर्कि आउनु पर्नेछ ।
१५) र यदि ती दुवैले तिमीहरूमाथि यसकुराको दबाव दिन्छन्, कि तिमीले कसैलाई मेरो साथमा साझीदार ठहराऊ जसको तिमीलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान्नु र सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु, र जुन व्यक्ति मतिर प्रवृत्त हुन्छ, उसको मार्गमा हिंड्नु । र तिमी सबैलाई मतिर फर्कि आउनु छ । अनि जुन काम तिमी गरिराखेका हुन्छौ, म तिमीलाई सबै बताउनेछु ।
१६) (लुकमानले भने कि) प्यारो छोरा ! यदि कुनै कुरा रायोको दाना (गेडा) बराबर होस् र त्यो कुनै चट्टानको बीचमा होस् वा आकाशहरूमा वा धरतीमा होस्, अल्लाहले त्यसलाई उपस्थित गर्नेछ । निःसन्देह अल्लाह अत्यन्त सूक्ष्मदर्शी (र) जानकार पनि छ ।
१७) हे मेरो प्यारो छोरो ! तिमी नमाजको आयोजन गर, भलाईको आदेश दिनेगर नराम्रो कर्मबाट रोक र जुनसुकै दुःख पनि तिमीमाथि आइपरे त्यसमा धैर्य राख, निःसन्देह यी अनिवार्य र दृढ संकल्पका काम हुन् ।
१८) मानिसहरू सम्मुख मुख नफुलाऊ र धरतीमा अहंकार गरी नहिंडनु । निश्चयनै अल्लाहले कुनै अहंकारी र घमण्डीलाई रुचाउँदैन ।
१९) आफ्नो चालमा सहजता र सन्तुलन कायम राख र आफ्नो आवाज नरम राख ! निःसन्देह आवाजहरूमध्ये सबैभन्दा नराम्रो स्वर, गधहाहरूको स्वर हुन्छ ।
२०) के तिमीले देखेनौं, कि अल्लाहले, जे जति आकाशहरू र धरतीमा छन्, सबैलाई तिम्रो काममा लगाइराखेको छ र उसले तिमीमाथि आफ्नो प्रत्यक्ष र परोक्ष अनुकम्पाहरू पूरै दिइराखेको छ ? केही मानिसहरूले अल्लाहको विषयमा बिना कुनै ज्ञान, बिना कुनै मार्गदर्शन र बिना कुनै प्रकाशमान किताबको आधारमा, झगडा गर्दछन् ।
२१) र जब उनीहरूसित भनिन्छ, ‘‘कि त्यस कुराको अनुशरण गर जुन कि अल्लाहले वह्य मार्फत अवतरित गरेको छ’’, तब भन्छन् कि ‘‘(होइन) बरु हामीले त त्यस कुराको अनुशरण गर्नेछौं, जसमा हामीले आफ्नो बाउ–बाजेलाई पाएका छौैं ।’’ यद्यपि शैतानले उनीहरूलाई नर्कको यातनातिर बोलाउँदछ, (तैपनि?)
२२) र जसले आज्ञाकारिताको साथ आफूलाई अल्लाहको अधीन गर्दछ र ऊ असल काम गर्ने पनि होओस् त उसले बलियो सहारा समातिहाल्यो । सम्पूर्ण कुराहरूको परिणति अल्लाहतिर नै छ ।
२३) काफिरहरूको इन्कारबाट तपार्इं दुःखी नहुनुस्, अन्ततः हाम्रैतर्फ उनीहरूले फर्केर आउनु छ । अनि जे जति उनीहरूले गरिराखेका छन्, हामीहरूले उनीहरूलाई अवगत गराउनेछौं । निःसन्देह अल्लाह (हृदय) छातीभित्र (लुके)को कुरार्लाइ पनि जान्दछ ।
२४) हामीले उनीहरूलाई त्यसै केही फाइदा गराइदिन्छौं । तर (अन्तमा) हामीले उनीहरूलाई विवश पारी एउटा कठोर यातनातिर तानेर लैजानेछौं ।
२५) यदि तपार्इं उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीको सृष्टिकर्ता को हो? त उनीहरूले अवश्य भनिहाल्नेछन्ः कि ‘‘अल्लाह हो’’ अनि भनिदिनुस्ः कि सबै प्रशंसा पनि अल्लाहकै निम्ति हो ! तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।
२६) जे जति आकाश र धरतीमा छ सबै अल्लाहकै हो निःसन्देह अल्लाह ठूलो निस्पृह, र प्रशंसित छ ।
२७) धरतीमा जति रुखहरू छन्, यदि ती सबै कलम भइहालुन् र समस्त समुद्र(का पानी) त्यसका मसी भइहालोस् त्यसपछि सात अन्य समुंद्र होउन् तै पनि अल्लाहका कुराहरू समाप्त हुनसक्ने छैनन् निःसन्देह अल्लाह अत्यन्त अधिपत्यशाली र तत्वदर्शी छ ।
२८) तिमी सबैको सृष्टि गर्नु र तिमी सबैलाई मृत्युपछि पुनः जीवित गर्नु त यस्तो छ, जस्तो कि एउटा जीउलाई सृष्टि गर्नु । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
२९) के तपाईं देख्नुहुन्न कि अल्लाहले रातलाई दिनमा प्रविष्ट गर्दछ र दिनलाई रातमा प्रविष्ट गर्दछ ! र उसले सूर्य र चन्द्रलाई आज्ञाकारी बनाइराखेको छ कि प्रत्येक एक निर्धारित समयसम्म चलिराखेको छ । र तिमीले जेजति गर्दछौ, अल्लाह त्यसको पूर्ण जानकारी राख्दछ ।
३०) यी सबै (प्रबन्धहरू) यस कारण छन्, कि अल्लाह नै सत्य हो र उसलाई छाडेर जस जसलाई यिनीहरू पुकार्दछन्, उनीहरू असत्य छन् । र निश्चय नै अल्लाह सर्वोच्च र शानवाला छ ।
३१) के तिमी यसमा विचार गर्दैनौ कि समुद्रमा अल्लाहकै अनुग्रहबाट डुङ्गाहरू चल्छन्, ताकि उसले तिमीहरूलाई आफ्ना केही निशानीहरू देखाओस् । निःसन्देह यसमा प्रत्येक धैर्यवान, र कृतज्ञको निम्ति धेरै निशानीहरू छन् ।
३२) र जब (समुंद्रका) तरङ्गहरूले तिनीहरूलाई छायाछत्र (पाल) जस्तै छोपिहाल्छन् तब उनले विश्वासको साथ अल्लाहलाई नै पुकार्छन्, अनि जब अल्लाहले उनीहरूलाई बचाएर स्थलसम्म पुर्याइदिन्छ, तब उनीहरूमध्ये केही मानिसहरू मात्र सन्तुलित मार्गमा हिंडछन्, र हाम्रा आयतहरूको इन्कार ती व्यक्तिहरूले मात्र गर्दछन् जो विश्वासघाती, र कृतघ्न हुन्छन् ।
३३) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर मान र त्यस दिनसित पनि तर्स जब कि नत बाबु आफ्नो छोराको कुनै काम आउनेछ, नत छोरा बाबुको कुनै काम आउने छ । निश्चय नै अल्लाहको वचन सत्य छ । (हेर) सांसारिक जीवनले कदापि तिमीलाई धोकामा नपारोस्, र नत अल्लाहको विषयमा धोकेबाज (शैतान)ले तिमीलाई भ्रममा पारोस् ।
३४) निःसन्देह कियामत (अन्तिमदिन) को ज्ञान अल्लाहलाई नै छ । र उसैले जल बृष्टि गराउँछ र उसैले गर्भाशयहरूमा भएको कुरा जान्दछ (अर्थात नर छ कि मादा) । र कुनै व्यक्तिलाई थाहा छैन कि भोली उसले के गर्नेछ । र कुनै मानिसलाई थाहा छैन कि कुन भू–भागमा उसको मृत्यु हुने छ । (यादराख)अल्लाह नै सबै जान्नेवाला, र प्रत्येक कुरोसित अवगत छ ।
Icon